बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर छाडिन् देश

काठमाडौं। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश नै छाडेकी छन्। देशमा आफुविरुद्धको प्रदर्शनले अशान्ति बढ्दै गएपछि हसिनाले आज राजीनामा दिएपछी देशै छाडेर भागेकी हुन् ।

बिबिसिका अनुसार देश छाडेर प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेकी छन्। आज बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ। विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ ¥याली गरिरहेका छन् ।

यसैबिच बङ्गलादेशका सेना प्रमुख जनरल वकारले देशवासीका नाममा एक सार्वजनिक सम्बोधन गरेका छन्। उनले अन्तरिम सरकार बनाउन छलफल भइरहेको जानकारी गराएका छन्। अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको उनको भनाइ छ।

विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टी (बिएनपी) का नेताहरूसँग पनि छलफल गरिरहेको अलजजिराको समाचारमा उल्लेख छ। बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरू प्रधानमन्त्री निवास गणभवनमा समेत प्रवेश गरेका छन्।

आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म करिब सय जनाको मृत्यु भएको बताइएको छ। गत महिना सुरु भएको प्रदर्शनमा आजसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रदर्शनकारीहरूबाट असुरक्षा महसुस भएपछि हसिना सेनाको हेलिकप्टर चढेर हसिना देश छाडेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय