शिर्ष नेतालाई बुझाइयो टीआरसी विधेयकको प्रतिवेदन

काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाएको छ। कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो।

प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे निष्कर्षमा पुग्नु सरकारको राम्रो काम भएको बताएका छन्। उनले लामो समयदेखि छलफलमा रही सहमतिमा पुगेर पनि टुंगिन बाँकी रहेको विषयमा निष्कर्षमा पुग्नु खुसीको कुरा भएको बताए। पीडितमैत्री बनाउने कोसिस निचोडमा पुगेको बताए।

यस्तै, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन यो सहमति टर्निङ प्वाइन्ट भएको बताए।उनले कानुन कार्यान्वयनमा पनि सहमतिका साथ अगाडि बढ्ने बताए।

उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट महेश बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो।

शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर