एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता भएको छ। गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै जनाएको छ। बंगलादेशमा हिंसा र सरकारको पतनपछि शेख हसिनाविरुद्ध दर्ता भएको यो पहिलो मुद्दा हो।
बंगलादेशी मिडियाका अनुसार यो मुद्दा किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले दायर गरेका थिए, जुन जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका थिए।शेख हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि सामेल छन्।
यी बाहेक कैयौं उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको छ। यससँगै बीएनपीले खालिदा जिया र उनका छोरा तारिक रहमानमाथि दर्ता भएका सबै मुद्दा फिर्ता लिन अन्तरिम सरकारलाई अपिल गरेको छ।
बीएनपी अध्यक्ष खालिदा जिया हालै जेलबाट रिहा भएकी छन्। बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि हिंसा रोकिएको छैन। पछिल्लो हिंसामा प्रदर्शनकारीहरूले राजधानी ढाकाको सेतु भवनलाई निशाना बनाएका छन्। सेतु भवनमा बंगलादेशको सडक, यातायात र पुल विभागको कार्यालय छ। प्रदर्शनकारीले सेतु भवनमा ढुंगामुढा गरी तोडफोड गर्नुका साथै त्यहाँ पार्किङ गरेका धेरै सवारीसाधनमा आगजनी गरेका छन्।