काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोले पनि त्यसको उल्टो बुझ्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै प्रचण्डले ओलीको बोलीको ठेगान नभएको टिप्पणी गरेका हुन्।
ओलीले हुन्छ भन्दा हुन्न बुझ्नु पर्ने र हुन्न भन्दा हुन्छ भनेर बुझ्नु पर्ने स्थिति रहेको अध्यक्ष प्रचण्डले टिप्पणी गरे। उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) को सैद्धान्तिक छलफलमा भाग लिँदै प्रचण्डले ओलीप्रति आशंका रहेको बताए।
उनले अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भएकोप्रति असन्तुष्टि जनाए। प्रचण्डले भने, ‘अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भन्नुहुन्छ। माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ। जबकी माओवादी जनयुद्ध भनेर संविधानमै लेखिएको छ। यसलाई हामी निष्कर्षमा पुर्याउँदैछौं। ति घटनामा हामीले गरेको छलफलहरु भएका सहमतिहरुलाई भुल्न हुँदैन।’ प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलले सहमति जुटाएर प्रतिवेदन बुझाउँदा बोल्ने क्रममा प्रचण्डकै अगाडि हिंसात्मक द्वनद्व भनेका थिए।