काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान शुरु गरेको छ ।
स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय÷घर सरसफाइ अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर÷कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको छ ।
शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाइमा जुटेको हो ।
मन्त्रालयबाट शुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पु¥याउने लक्ष्य मन्त्रालयको छ । अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाइ अभियान शुरु गरेको बताए ।