काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन्।
आज शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धारणा राखेको बताए। उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए।
उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको बताए। उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए। आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो। उनले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रहसमेत गरे।
उनले पार्टी अब नफुट्ने पनि दाबी गरे। उनले उपमहासचिव शर्माले उठाएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताए।