काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् ।
भेटमा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरूप रहेको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको दूतावासको भनाइ छ ।
मन्त्री राणाले सोमबार नै भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । सोमबार दिउँसो उनीहरूबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।
त्यस अवसरमा उनीहरूबीच नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो ।
भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको उनको पहिलो विदेश भ्रमण हो । मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किने तालिका छ ।