काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गएरातीदेखि लगातार वर्षा भइरहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
बागमती नदीमा भीषण बाढी आएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले आज सूचना जारी गरी काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो ।
यस्तै, पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै बाराको सिमरा विमानस्थलको जल मापन केन्द्रमा १ सय २८ मिलिमिटर वर्षा मापन भएको छ ।
पर्साको रङ्गापुर टांडी बजारमा १ सय १७ दशमलव ८, कैलालीको धनगढीमा ९८ दशमलव ४, कञ्चनपुरको सुन्दरपुरमा ९८, बाराको कोल्भीमा ९० दशमलव ४, कञ्चनपुरको हनुमान नगरमा ८४ दशमलव ४, लमजुङको बेसीशहरमा ६६ मिलिमिटर पानी परेको छ ।
यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि पानी परेको छ । वर्षाका कारण देशका धेरै सडकखण्ड अवरुद्ध भएका छन् यात्रा गर्दा सावधानी अपनाउन महासंघले आग्रह गरेको छ ।