काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरू भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।
वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले बुधबार बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौं नौविसे सडकखण्ड प्रभावित भएको थियो ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए ।