काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय साझा सवाल भएको भन्दै साझा ढंगले समाधान गरिने बताएका छन्।
आज बिहीवार प्रतिनिधिसभा बैठकमा सांसद नारायणी शर्मा को प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषय सबैको साझा विषय भएको बताएका हुन्। उनले यो विषय साझा सवाल भएकाले साझा ढंगले नै समाधान गरिने बताए।
उनले संविधान कार्यान्वयनको ८ वर्षको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए। उनले देश र जनताको हितको पक्षमा, विकास र समृद्धिको पक्षमा हुनेगरी संविधान संशोधन गरिने स्पष्ट पारे।
‘संविधान संशोधन हामीले ८ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताको आधारमा गरिने हो। देशको आवश्यकता भन्नाले देशको हितको पक्षमा, जनता, विकास, सुशासन यसको पक्षमा‚’ उनले भने‚ ‘देशलाई आर्थिक, सुशासन, समृद्धि, समानताको पक्षमा अगाडि बढाउनु जे आवश्यक पर्छ, त्यो गर्ने हो। यो साझा सवाल हो‚ साझा ढङ्गले समाधान गरौँला।’
प्रधानमन्त्री ओलीले आवश्यकताको आधारमा संविधान संशोधनको आँट सबैले गर्नुपर्ने बताए।