काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि उडान पुनः सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि बन्द उडान झण्डै २ महिनापछि नियमित सुचारु भएको हो ।
मौसममा तुलनात्मक सुधार आएसँगै आजदेखि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । आजको उडानमा काठमाडौंबाट १२ जना यात्रु हवाईजहाज चढेर रेसुङ्गा विमानस्थल झरेका छन् ।
अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने रेसुङ्गा विमानस्थलका प्रमुख थापाले बताए । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराबको कारण उडान हुन सकेको छैन ।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।