गृह मन्त्री लेखकले गराए मर्स्याङदी दुर्घटनाबारे भारतीय राज्य मन्त्रीलाई ब्रिफिङ

काठमाडौं। २७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा शनिबार गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराए। शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए।

गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पतालमा रहेका घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए। त्यसपछि मन्त्रालयमा आयोजित सङ्क्षिप्त कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले दुखद घटना भएको बताए। उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरे।
उनले घाइतेहरूको उपचारमा चिकित्सकहरूले देखाएको सक्रियताको प्रशंसा गरे। गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसीयु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ।

शुक्रबार घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। सो बसमा ४३ जना यात्रु सवार थिए। त्यसैगरी मृतकहरूको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ। गृहमन्त्री लेखकसंगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ। शव परीक्षणपछि शवहरू भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय