तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिएर भारतीय विमान फर्कियो

काठमाडौँ । तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिएर भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमान केहीबेर अघि चितवनको भरतपुर विमानस्थलबाट उडेको छ।

मृतक २७ जनामध्ये २५ शव लिएर भारतीय सेनाको जहाज भर्खरै भारत प्रस्थान गरेको हो। भारत महाराष्ट्र राज्यको नासिक विमानस्थलमा जहाज अवतरण हुने छ। चालक र सहचालक उत्तर प्रदेशको गोरखपुर घर भएकाले शवबहानमार्फत पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस दुर्घटनामा मृत्यु भएकाको भरतपुर अस्पतालमा शव परीक्षण गरिएको छ। त्यसपछि बाकसमा हालेर शव विमानस्थलसम्म प्रहरीको गाडीमा लगिएको थियो।

पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस र्मस्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ।

भरतपुर आएका भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि सोही विमानमार्फत फर्केका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय