गुल्मी । गुल्मीको निहुरो बुटवल र काठमाण्डौमा समेत पुग्न थालेको छ । गुल्मीका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् ।
भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । गुल्मीको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रामा पाइने निहुरो अहिले कोसेली र व्यापारका रूपमा बुटवल र काठमाण्डौमा समेत पुग्न थालेको हो ।
गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङ्दीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जङ्गलबाट टिपेर ल्याएको निहुरोको गाउँमा खासै महत्त्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । तम्घासबाट व्यापारीले बुटवल र काठमाण्डौसम्म पठाउने गरेका छन् ।
निहुराे सदरमुकाम तम्घाससम्म ल्याई पुर्याउँदा साना मुठाको ३० र ठूला मुठाको ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको गुल्मीकाे धुर्कोट गाउँपालिका–५ की चन्द्रकली कुमाल बताउनुहुन्छ । यसले आफ्नो घरखर्च टर्ने गरेको उहाँको भनाइ छ ।
विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान भएका उपभोक्ताले पहाडको लेकबाट टिपेर ल्याएको अर्ग्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।