वर्षापछिको बाढीपहिरोमा परी अहिलेसम्म २१८ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ को मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले विपद्‌मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए ।

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनर्स्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्,” उनले भने ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयंसेवकले विपद्‌मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए । ५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र वाग्मती प्रदेश बढी प्रभावित भएका बताए ।

नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२, सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर