एनआरएनए भिक्टोरिया नारी निकुञ्ज उप–संयोजकमा ललिशा थापाको उम्मेदवारी

मेलबर्न – लामो समयदेखि अष्ट्रेलियामा नेपाली समुदायका महिलाहरू, परिवार, र युवासँग नजिकिएर समाजसेवामा सक्रिय रहिएकी ललिशा थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्यको नारी निकुञ्ज उप–संयोजक (२०२५–२०२७) पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

समुदायप्रतिको समर्पण, सहभागिता र आवाजलाई प्रतिनिधित्व गराउने अठोट सहित थापाले उम्मेदवारी घोषणा गरेकी हुन् ।

थापा अष्ट्रेलियामा नेपाली संघ भिक्टोरिया (NAV) की पूर्व उपाध्यक्ष हुन्। विगत पाँच वर्षदेखि विभिन्न भूमिकामा रहेर नेपाली समुदायको सेवा गर्दै आएकी उनले महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, सांस्कृतिक पहिचान र युवाको नेतृत्व विकासमा विशेष योगदान दिँदै आएकी छन्।

सन् २०२३ मा उनलाई भिक्टोरियन अनर रोल अफ विमेन मा “लोकल च्याम्पियन” उपाधिले सम्मान गरिएको थियो। यो सम्मान प्राप्त गर्ने उनी पहिलो अष्ट्रेलिया–आधारित नेपाली महिला रहेको उनको दावी छ ।

उनको भनाइमा, यो उम्मेदवारी कुनै पदको लागि मात्र नभई साझा मूल्य र दीर्घकालीन प्रतिबद्धताको निरन्तरता हो। उनी प्रतिनिधित्वलाई केवल औपचारिकतामा सीमित नगरी समुदायको वास्तविक आवाज उजागर गर्ने विश्वास राख्छिन्। महिलाहरू र परिवारहरूको क्षमता अभिवृद्धि गर्दै मानसिक, भावनात्मक र सांस्कृतिक स्वास्थ्यलाई समेट्ने खालका गतिविधिहरूमा निरन्तर लागिरहने अठोट उनले व्यक्त गरेकी छन्।

उनले क्षेत्र र भूमिकाभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै महिला नेतृत्व विकास, उनीहरूको सहभागिता र सशक्तिकरणमा प्राथमिकता दिने बताइन्। एनआरएनएको गतिविधिमा अझ धेरै महिलाहरूको संलग्नता बढाउनु, दोहोरो नागरिकताको अधिकारका पक्षमा आवाज उठाउनु, युवा, सीप र उद्यमशीलताको प्रवर्द्धन गर्नु, र नेपालसँग सम्बन्धित सामाजिक, सांस्कृतिक र नीति निर्माण तहमा पनि योगदान पु¥याउनु उनको प्राथमिकता रहेको छ।

“नारी निकुञ्जलाई सक्रिय, दृश्यात्मक र एनआरएनएको दीर्घकालीन लक्ष्यहरूसँग जोड्ने अभियानमा म तपाईंहरू सबैसँग मिलेर काम गर्न इच्छुक छु,” थापाले भनिन्।

उम्मेदवारी घोषणासँगै उनले आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनमा नेपाली समुदायबाट साथ र समर्थनको अपेक्षा गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय