मेलबर्न । शनिबार अष्ट्रेलियाको मेलबर्न नेपाली समुदायको लागि ऐतिहासिक दिन बन्यो। काठमाडौं उपत्यकामा मात्र देखिने इन्द्र जात्रा (येन्या पुन्ही) पहिलोपटक नेवा गुठी मेलबर्नको आयोजनामा डिगरस् रेस्टस्थित अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) को भूमिमा उतारिएको थियो।
६ हजार मानिसहरुको सहभागिता रहेको उक्त भनिएको उक्त कार्यक्रममा सांस्कृतिक पोशाकमा सजिएका बालबालिका, युवायुवती र वृद्धवृद्धा—सबैको उत्साहले वातावरणलाई काठमाडौंको सडकमा हुने इन्द्र जात्रासँगै तुलना गर्न सकिने बनायो। गणेश, भैरव र जीवित देवी कुमारीको रथयात्रा निकालिँदा उपस्थित दर्शकहरू टाढासम्म तानिए। धिमे बाजाको गड्गडाहट, लाखे नाच र पुलुकिसीको प्रस्तुतिले मेलबर्नमा नयाँ अनुभव भित्र्यायो।
कार्यक्रममा काठमाडौंको परम्परागत भोज समय बाजी को स्वाद लिन पाइयो। नेवारी भान्साको स्वाद चाख्न लामो लाइन लागेको देखिन्थ्यो। यससँगै नेपाली कला, हस्तकला र प्रदर्शनीहरूले मेलबर्नको बहुसांस्कृतिक समाजमा नेपाललाई थप नजिक ल्याए।
कार्यक्रमलाई भिक्टोरियाका लागि भिक्टोरियाका बहुसांस्कृतिक मामिलाकी मन्त्री इन्ग्रिड स्टिट, सांसद जोश बुल, सांसद क्याथलिन म्याथ्युज(वार्ड, विपक्षी दलका उपनेता तथा छायामन्त्री इभान मुलहोल्यान्ड, सांसद स्टिभ म्याक्गी, भिक्टोरियाका नेपाली वाणिज्य दूत निराजन गौली, एएनएमसीका अध्यक्ष डा. तिलक पोखरेल, न्याभ अध्यक्ष डा. याकिन्द्र तिम्सिना, एनआरएनए भिक्टोरियाका उपाध्यक्ष शसिन्द्र गौतमसहित विभिन्न सांसद तथा समुदायका अगुवाहरूले आफ्नो उपस्थिति दिँदै अझ गरिमामय बनाए। उनीहरूले नेपाली समुदायले भिक्टोरियामा पुर्याएको योगदानको प्रशंसा गर्दै निरन्तर साथ र सहयोगको आश्वासन दिए।
करिब ६ हजार भन्दा बढी सहभागीलाई समेट्न कार्यक्रमलाई सुव्यवस्थित बनाउन स्वयंसेवकहरूको ठूलो टोली सक्रिय थियो। ट्राफिक व्यवस्थापनदेखि मञ्च संचालनसम्म, रथ निर्माणदेखि बाजा तालसम्म—सबै खण्डमा समुदायको सामूहिक लगानी देखियो। कार्यक्रमकै क्रममा ज्येष्ठ नागरिक सम्मान र पुस्तक विमोचनसमेत गरियो, जसले पर्वलाई अझ अर्थपूर्ण बनायो।
यस वर्षको इन्द्र जात्रा मेलवर्नमा मनाउने परिकल्पना राजन मास्केले गरेका थिए भने, सफल बनाउन इभेन्ट डाइरेक्टर तथा सल्लाहकार रञ्जन वैद्यले नेतृत्व गरेका थिए । समग्र समन्वयको जिम्मा माया सुवाल, कार्यक्रम व्यवस्थापनमा सुशान्त डंगोल, रथ निर्माणमा पियुष र टिमले कलात्मक कौशल प्रस्तुत गरे भने सांस्कृतिक टोलीलाई कुमारले नेतृत्व गरे। बाजा व्यवस्थापनमा छिस्कार महर्जन, अमन महर्जन र आर्यन मानन्धरले योगदान दिए। ट्राफिक तथा सुरक्षा व्यवस्थापन सुदीप मास्केको नेतृत्वमा सम्पन्न भयो, जसलाई बीना डंगोल र रामिता बाटीले विशेष सहयोग गरे। प्रचार–प्रसार र भिड व्यवस्थापनमा सुरेश महर्जन र सुरज प्रधान अगाडि सरे। स्वास्थ्य तथा सुरक्षा टोलीमा तरनजित कौर र बीना सक्रिय रहे। मञ्च व्यवस्थापन, एमसी तथा अतिथि समन्वयमा ललिशा थापा, भिड व्यवस्थापनमा राजेन्द्र सिंह, आर्थिक जिम्मेवारीमा रजन मास्के र सुर्य महर्जन, र भिआइपी व्यवस्थापनमा माधुरी मास्केले भूमिका निर्वाह गरे।
नेवा गुठी मेलबर्नले यसलाई केवल एक सुरुवातका रूपमा लिएको छ। आगामी वर्षहरूमा इन्द्र जात्रालाई मेलबर्नको स्थायी वार्षिक पर्व बनाउने योजना सार्वजनिक गर्दै आयोजकहरूले यो परम्परालाई अझ भव्य ढंगले निरन्तरता दिने वाचा गरेका छन्।