अपडेट : बारा दुर्घटनामा मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत
काठमाडौं । बाराको अमलेखगन्जमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । तीमध्ये १५ जनाको शव हेटौँडास्थित अस्पताल र एक जनाको शव चितवनस्थित अस्पतालमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकमध्ये १० पुरुष ६ महिला छन् ।  मृतकमध्ये ९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता बलराम श्रेष्ठका अनुसार दुर्घटनामा घाइते भएकाहरूमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, २ जना चुरेहिल अस्पताल, एक जनाको मकवानपुर सहकारी अस्पताल तथा एक जनाको चितवनमा ज्यान गएको हो । घाइतेहरू २० जनामध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ । बिहीबार(आज) बिहान हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु हुनेमा बारा कलैया १० का ३५ वर्षीय बाज्रीना खातुन पर्सा वीरगञ्जका ६५ वर्षीय सोमप्रसाद चौरासीया, ३५ वर्षीय मुन्नीदेवी चौरासीया, मकवानपुर हेटौँडा ७ की ५५ वर्षीय शभलक्ष्मी श्रेष्ठ र २० वर्षीय स्वस्तिका श्रेष्ठ, कलैयाकै २२ वर्षीय इन्ताक अन्सारी, बारा अमलेखगञ्जका २८ वर्षीय सुरेश विक, ४५ वर्षीय लालबहादुर बोगटी तथा गोर्खाकी अम्बिका कँडेल रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचार भइरहेको छ । उनीहरूलाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय