लगातारको वर्षाले देशभरको जनजिवन प्रभावित

काठमडौं । वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । कतिपय अवरुद्ध सडक खुले पनि पानी नरोकिएका कारण पटक–पटक खुल्ने/बन्द हुने अवस्था रहेको सडक विभागले जनाएको छ ।

विभिन्न राजमार्ग र सडक खण्डहरू अवरुद्ध हुँदा दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा हिँडेका र विभिन्न गन्तव्यमा पुग्न हिँडेका सर्वसाधारण समस्यामा परेका छन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार मुग्लिन–नारायणगढ खण्डको २ स्थानमा पहिरो खसेर पटक–पटक सास्ती भइरहेको छ ।

उहाँका अनुसार १७ किलो र केराबारीमा खसेको पहिरोहरू पन्छाएर अहिले सडक सञ्चालनमा छ । तर, पानी नरोकिएकाले कतिबेला फेरि समस्या हुन्छ भन्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

बिहान मुग्लिन–नागढुङ्गा सडक खण्डको खत्रीपौवामा पनि पहिरो खसेर केहीबेर सडक अवरुद्ध भएको थियो । विभागका अनुसार गल्छी–त्रिशूली खण्डमा पनि पहिरो खसेर समस्या भएको छ ।

अहिले सो खण्ड सञ्चालनमा रहेपनि रातको समयमा सवारी सञ्चालन गर्न सहज नहुने महानिर्देशक थापाले जानकारी दिनुभयो । विभागका अनुसार सिद्धार्थ राजमार्गको हिँउदे खोलामा खसेको पहिरोले सडक अवरुद्ध छ । तानसेन–रिडी सडकको तम्घासको जोर्तेमा खसेको पहिरोले समस्या गरेको छ । अमिलया–तुल्सीपुर खण्डको भञ्जाङमा पनि पहिरोले राजमार्ग अवरुद्ध गरेको छ ।

साँफेबगर–मार्तडी सडक खण्डमा पनि सवारी चलेका छैनन् । डुम्रे–बेसीसरहर खण्डको उदिपुरमा पनि पहिरोले समस्या खडा गरेको छ । बेसी सहर चामे खण्डको रामबजार र खोत्रोमा पहिरो सकेर सडकमार्गमा समस्या भएको छ ।

यसबाहेक मध्यपहाडी लोकमार्गअन्र्तगतका विभिन्न खण्डहरु पनि अवरुद्ध छन् । कालीगण्डकीसहितका उत्तर–दक्षिण करिडोरका सडकमार्गहरुमा पनि विभिन्न खण्ड पनि अवरुद्ध छन् ।

कतिपय स्थानका सडक भासिएका छन् भने कतिपय ठाउँमा खोल्सामा पानीको सतह बढेर सवारी तर्न समस्या भएको छ । अत्यधिक वर्षाले विभिन्न खण्डमा सडक अवरुद्ध गरेपनि तुरुन्तै डोजरसहितको जनशक्ति परिचालन गरिएको सडक विभागका महानिर्देशक थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय