तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा अहिलेसम्म रहेको उहाँको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व आवश्यक छ । त्यही माग अनुरूप नै मेरो उम्मेदवारी हो, उहाँले भन्नुभयो ।
देशको समग्र विकास र स्थिर सरकारका लागि यस चुनावले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेका कामका विषयमा जनतासमक्ष पुर्याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
पौडेलले लामो समयदेखि जिल्लामा गतिविधिमा सहभागी भएको कार्यक्रममा उम्मेदवार बन्ने दाबी गर्दै आउनुभएको थियो । समयसमयमा जिल्लाका विभिन्न ठाउँकाे भ्रमण गर्ने क्रममा वरिष्ठ नेता पौडेलले यसअघि नै उम्मेदवार बन्ने घोषणासहित सहयोगका लागि मतदातासमक्ष अनुरोध गर्दै आउनुभएको थियो । कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएकाे छ ।