काठमाडौं । निर्वाचन समयमा हुने आर्थिक गतिविधिले देशको अर्थतन्त्रमासमेत दुई प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । विगतमा नेपालमा पनि चुनावताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । राजनीतिक दलका उम्मेदवारले चुनाव जित्नका लागि अत्यधिक पैसा खर्चिने गर्दछन् । चुनावमा प्रयोग हुने खाद्य सामग्री र गाडीमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ । चुनावको समयमा आर्थिक गतिविधि बढी चलायमान हुने भएकाले अर्थतन्त्र पनि त्यहीअनुसार चलायमान बन्ने आँकलन गरिन्छ ।
यसैबीच आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका कारण भने देशको अर्थतन्त्र खासै सुधार नहुने विज्ञहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले आउँदो मङ्सिर ४ गतेको चुनावले देशको अर्थतन्त्रमा सुधार नहुने बताउनुभयो ।
आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वगभर्नर नेपालले विगतका चुनावमा भएका आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान बनाउने गरेको भए पनि आउँदो मङ्सिर ४ गते हुने चुनावले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अवस्था नभएको दाबी गर्नुभयो । उहाँले एक वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आँकलन गरिए पनि आउँदो चुनावमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रियरूपमा हेर्दा चुनावले देशको अर्थतन्त्रमा केही फरक पार्ने गरेको छ । मलेसियाले गरेको २० वर्षको अनुसन्धानअनुसार चुनावको बेलामा आर्थिक क्रियाकलाप बढ्नाले एकदेखि दुई प्रतिशतसम्म आर्थिक वृद्धि पनि भएको देखिन्छ । विगतका चुनावमा नेपालमा पनि आर्थिक गतिविधि चलायमान भएको थियो । आउँदो चुनावमा अर्थतन्त्र चलायमान बन्न सक्ने अवस्था छैन । किनकि बजारमा तरलता अभाव छ । सरकारले गर्न लागेका विकास निर्माणको काम तथा नीतिगत निर्णयहरू पनि रोकिने गर्छन् । आयोजनाहरू पनि पूरा हुँदैनन् । हाम्रोजस्तो देशमा चुनावले अर्थतन्त्रलाई दबाब दिने हुन्छ । विगतका चुनावलाई हेर्दा आर्थिक गतिविधिले अर्थतन्त्रमा सहज हुन्छ, उत्पादनमा वृद्धि र उपभोग पनि बढ्छ भन्ने हो । तर अहिले बजारमा एक वर्षदेखि तरलताको अभाव भइरहेको छ । तत्काल तरलता सहज हुने अवस्था छैन ।’
पूर्वगभर्नर नेपालले आउँदो चुनावले बजारको तरलता अभावसमेत तत्कालै समधान गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले यस पटकको प्रतिनिधि र प्रदेश सभा चुनावमा अघिल्लो चुनावमा जस्तो आर्थिक गतिविधि बढ्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।
डा। नेपालले बैंकहरूको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले चुनावको समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने पनि बताउनुभयो । उहाँले राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नका लागि बैंकहरूको सिडी रेसियोमा केही लचकता अपनाउन सुझाव दिनुभयो । उहाँले बजारमा तरलता अभाव देखिने बित्तिकै अनौपचारिक क्षेत्रमा खर्च बढ्ने डर रहेको बताउनुभयो । अनौपचारिक क्षेत्र फस्टाउँदा देशको अर्थतन्त्र कता जान्छ भन्ने थाहा पाउन गाह्रो हुने उहाँको भनाइ छ ।
पूर्वगभर्नर नेपालले मौद्रिक नीतिमार्फत कर्जा विस्तार १२।५ बनाएर नगन्य बनाएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा विस्तार १२ प्रतिशत बनाएकाले अर्थतन्त्र ठप्पजस्तै भएको बताउनुभयो । चुनावको समयमा कालो धन आउन सक्ने सम्भावना प्रशस्त रहेको बताउँदै उहाँले कालो धन बैंक तथा वित्तीय संस्थाहरूमा भने नआउने उल्लेख गर्नुभयो ।
अन्तिम अपडेटस् असोज २५, २०७९