ग्वाटेमाला र एल साल्भाडोरमा ठूलो आँधीसँगै वर्षा : २८ जनाको मृत्यु

एजेन्सी । ग्वाटेमाला र एल साल्भाडोरमा ठूलो आँधीसँगैको वर्षाका कारण कम्तिमा २८ जनाको ज्यान गएको छ ।

‘जुलिया’ नामको आँधी र मुसलधारे वर्षाका कारण उनीहरुको ज्यान गएको विपद् अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जना तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाले ज्यान गुमाएका जानकारी दिएको छ ।

त्यस्तै एल साल्भाडोरको कोमासागुवा र ग्वाटाजियागुवा सहरमा घरको पर्खाल भत्किँदा पाँच जना सैनिकसहित ७ जनाले ज्यान गुमाएका छन् । केही नागरिकले बाढीमा परेर ज्यान गुमाएका छन् ।

एल साल्भाडोरका नदीतटीय क्षेत्रमा सरकारले आपत्कालीन अवस्था घोषणा गरी ८० भन्दा बढी ठाउँमा आश्रयस्थल बनाएको छ ।

एल साल्भाडोरमा एक हजारभन्दा धेरै मानिस विस्थापित भएका आन्तरिक मन्त्री राउल जुआरेजले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय