काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरूलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भन्नुभएको थियो । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।
३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाउनुभएको छ । ती मन्त्रालयहरूको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्नुहुने छ ।