न्याभ कपको १८ औं संस्करण घोषणा, ‘म्याक्सीम्याक्स’ बन्यो टाइटल स्पोन्सर

मेलवर्न । भिक्टोरियाकै पूरानो नेपाली संस्था नेप्लिज एसोसियसन अफ भिक्टोरिया (न्याभ)ले विगतमा जस्तै यसपटक पनि न्याभ कपको घोषणा गरेको छ ।

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजको मुख्य प्रायोजनमा यस क्षेत्रमा नेपाली समुदायबाट आयोजना हुने हालसम्मकै ठूलो खेलकूद प्रतियोगिता न्याभ कप घोषणा गरिएको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिए ।

न्याभ कपको १८ औ संस्करण १५ जनवरी २०२३ बाट शुरू भएर दुई महिनासम्म जारी रहने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

कोभिडको कारण अघिल्लो तोकिएको समयमा गर्न नसकिएको न्याभ कपलाई यस पटक अझै बढी उत्साहजनक र भव्य बनाउनको निम्ती विभिन्न समितिहरु गठन गरेर अघि बढ्न लागिएको छ ।

अष्ट्रेलियामा रहेका नेपाली समुदायका क्रिकेट क्लबहरुले अधिकतम सहभागिता जनाउने उक्त न्याभ कपमा क्रिकेट प्रतियोगितासहित अन्य विभिन्न उल्लासपूर्ण खेलकूद कार्यक्रमहरु हुने भएका अध्यक्ष उप्रेतीको भनाई छ ।

‘न्याभले यहाँ रहेका नेपालीहरुलाई खेलकूद, कला, संस्कृति मनोरञ्जनसँग जोड्नको निम्ती गरिरहने विभिन्न महाअभियानमध्ये न्याभ कप अझै विशेष संस्करण हो’, उप्रेतीले कनेक्ट नेपालीसँग भने, ‘यसपटक अझै उत्साहजनक रुपमा नयाँ बर्षमा यो कार्यक्रम हुनेछ ।’

उनले अष्ट्रेलियामा रहेका अधिकतम खेलप्रेमी नेपालीहरुलाई कपमा आवद्धता दिलाउने अभियान अन्तर्गत अहिलेबाट नै चुस्त र दुरुस्त रुपमा प्रतियोगिताको प्रचार प्रसारको कामलाई प्रभावकारिता दिइएको बताए ।

उनले पछिल्लो समय यहाँ नेपालीहरुको संख्या पनि बढीरहेको, खेलकूल क्लवहरु दर्ता भइरहेको तथा खेलप्रति बढीरहेको उत्साहलाई केन्द्रीत हुने यस प्रतियोगिताले नेपालीहरुमा एकआपसमा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र सहअस्तित्वको विकास गर्न मद्धत पुग्ने विश्वास समेत लिए ।

म्याक्सिमस एजुकेशन एन्ड माइग्रेसन बन्यो टाइटल स्पोन्सर

न्याभ कपलाई भव्य रुपमा सफल पार्न म्याक्सीम्याक्स एजुकेशन तथा माइग्रेसनले साथ दिने भएको छ । अष्ट्रेलियाको भिक्टोरिया रहेका नेपालीहरुले मनोरञ्जन लिने हालसम्मकै ठूलो प्रतियोगितालाई सफल पार्नको निम्ती आफूहरुले मुख्य प्रायोजन गरेको म्याक्सीम्याक्सका डाइरेक्टर शंकर धरेलले बताए ।

‘सामुदायिक कार्यक्रमहरुमा सामान्यतया नियमित रुपमा सहभागि भइरहेका हुन्छौं’, धरेलले कनेक्टनेपालीसँग भने, ‘न्याभ कप समुदाय र युवाहरुसँग जोडिएको कार्यक्रम मात्रै नभएर खेलकुदको माध्यमबाट भातृत्व तथा नयाँ युवाहरुमा नेटवर्क तथा पहिचान बढाउने माध्यम पनि भएको कारण यो इभेन्टमा सहभागि बन्यौं ।’

न्याभ प्रतिष्ठित तथा अष्ट्रेलियामा इतिहास बोकेको संस्था भएकोले यसले गर्ने कार्यक्रमहरुलाई यसैपनि महत्वपूर्ण रहेको भन्दै धरेलले यसप्रकारका सामाजिक कार्यहरुमा म्याक्सीम्याक्सले दरिले उपस्थिती जनाउने उनको भनाई छ ।

यसअघि न्याभ कपको संयोजकको रुपमा भूमिका निभाएका न्याभका वर्तमान अध्यक्ष उप्रेतीले यसबर्ष विगतका अनुभवलाई बटुल्दै अझै विशेष कार्यक्रम गर्न सफल भइने विश्वास व्यक्त गरे ।

यस्तै न्याभका कार्यकारी सदस्य तथा खेलसंयोजक दीप चन्दले विभिन्न नेपाली क्लवहरुको क्रिकेट प्रतियोगिता मात्र नभएर च्यारिटीको निम्ती कम्युनिटी मेम्बरहरुको क्रिकेट प्रतियोगिता मेलाको मुख्य आकर्षण रहने बताए । जसमा १० भन्दा बढी क्लबहरुले सहभागि हुने विश्वास लिइएको बताए ।

युवाहरुले आफ्नोजागरुकता, एकता तथा खेलप्रेम दर्शाउने महत्वपूर्ण उत्सव रहने भन्दै चन्दले यसपटकको कार्यक्रम विगत भन्दा फरक अनुभूत गर्न सक्ने तथा अष्ट्रेलियामा नेपालीहरुको विशेष पहिचान स्थापना गर्न मद्धत पुग्ने बताए । विशेषता यहाँ रहेका नेपालीहरुमा आपसी हार्दिकता र ऐक्यवद्धता गर्नमा यस दुई महिने महोत्सवले सहयोग गर्ने हामीले विश्वास लिएका छौं, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय