काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताउनु भयो । उहाँले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताउनु भयो ।
महामन्त्री शर्माले भन्नुभयो, ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरु पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरु भएका छन् । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रुपमा अर्को जन्म भएको महशुस गरेँ । मैले इमान्दारितापूर्वक कार्य गर्नुपर्छ ।’
महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताउनु भयो ।