काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आज शुक्रवार काठमाण्डौमा सुरु भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले फौजदारी शासन कायम गर्न देशको विद्यमान कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताउनुभयो । उहाँले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने काम कुनै पनि किसिमको दबाब, प्रभावमा नपरि निष्पक्ष, स्वतन्त्र र व्यावसायिकरूपमा सम्पादन गर्न सरकारी वकिलहरूलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘फौजदारी शासन कायम गर्न देशको विद्यमान कानुनको निष्पक्ष प्रभावकारिताको रूपमा कार्यान्वयन हुनेछ । कानुनी शासन बनाउन महत्त्वपूर्ण योगदान गर्दै आएको महान्यायाधिवक्ता कार्यालयको कार्यकुशलता, स्वच्छता, निष्पक्षता, पारदर्शिताले देशमा कानुनी राज्यको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सदैव सजग र सचेत रही कार्यसम्पादन गर्न आवश्यक छ । कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने कार्यहरू कुनै पनि किसिमको दबाब, प्रभावमा नपरि निष्पक्ष, स्वतन्त्र र व्यावसायिकरूपमा सम्पादन गर्न सबै सरकारी वकिलहरूलाई आग्रह गर्दछु ।’
प्रधानमन्त्री देउवाले अपराधसंहिता लगायतका नयाँ फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्चितता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकारविरुद्ध परेका कानुन विवादको प्रतिरक्षा गर्दै व्यावसायिक दायित्व निभाउन पनि सरकारी वकिलहरूलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सरकारी वकिलहरू व्यावसायिक र क्षमतावान् हुन आवश्यक रहेको पनि बताउनुभयो । सरकारी वकिलको सेवा तथा सर्तसम्बन्धी कानुन निर्माणका लागि सरकारले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।