सरकार गठनका लागि कांग्रेसले सुरु गर्यो हस्ताक्षर संकलन

काठमाडौं । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ। कांग्रेसले शुक्रबारदेखि पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको हो।

हस्ताक्षर संकलन भइरहेको कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको सभापति शेरबहादुर देउवानिकट एक नेताले जानकारी दिएका छन्।

कांग्रेसबाट प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना प्रतिनिधिसभा सदस्यहरु मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि समय दिएकी छन्।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न भनेको छ।

सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय