काठमाडौं । सरकारले राहदानी, लाइसेन्स वितरणमा देखिएका समस्या सहित जनताका अन्य समस्या समाधानमा केन्द्रीत हुने निर्णय गरेको छ ।
हिजो साँझ बसेको मन्त्रीपरिषद् बैठकले खासगरि राहदानी र लाइसेन्सका लागि नागरिकले निक्कै सास्ती खेप्नु परिरहेकाले यसको समाधानका लागि प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले संसदको अधिवेशन पनि आह्वान गर्ने निर्णय गरेको छ । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकले सास्ती नपाउन् भनेर सुशासनमा केन्द्रित भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने समेत बताउनुभयो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातयात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणमा आफ्नो जोड रहने बताउनुभएको छ । मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले सुशासन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो एजेण्डा रहेको बताउनुभयो ।
हिजो कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गर्नुभयो । यस्तै, सञ्चारकर्मीको पृष्ठभूमिबाट राजनीतिमा आएर गृहमन्त्री बन्नुभएका लामिछानेलाइ शान्ति सुव्यवस्था, अपराध नियन्त्रण, हत्या, हिंसा, बलात्कार न्यूनीकरण, सुरक्षा संयन्त्रको चुस्त चलायमान गर्नु जस्ता बिषय चुनौतीपूर्ण देखिएको छ ।
हिजो आफ्नो कार्यभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले आफूहरूले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताउदै उहाँले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको न्यायको लागि पहल गर्ने बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै पुर्व गृहसचिव खेमराज रेग्मीले लामिछानेलाइ बोलेका बिषयहरू पूरा गर्ने चुनौती भने उत्तिकै रहेको बताउनुभयो ।