सत्ता साझेदार दलको बैठक भोलि बस्ने

काठमाडौं। सत्ता साझेदार दलहरूको बैठक बिहीबार बस्ने भएको छ। खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री प्रचण्डका सचिवालय संयोजक रमेश मल्लले बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्ड तय भएको जानकारी दिए। उनले दुई शीर्ष नेताबीच सरकारको नीति तथा कार्यक्रम र सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा विहंगम छलफल भएको बताए।

उनले भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता साझेदार दलहरूको बैठकमा पनि यी विषयमा छलफल हुने जानकारी दिए। ‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच छलफल हुँदै छ। आजको छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा छलफल भयो,’ मल्लले भने, ‘विस्तृत रूपमा बिहीबार गठबन्धनको बैठकमा छलफल हुनेछ।’

सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्। सत्तासमीकरणबारे छलफल गर्न ओली प्रचण्ड भेट्न खुमलटार पुगेका थिए। उनीहरुबीच त्यहाँ करिब २ घण्टा लामो छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय