काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै पार्टीले सुविचारित ढंगबाट अबको बाटो तय गर्ने बताएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा संयुक्त वक्तव्य जारी गरेर महामन्त्रीद्वय शर्मा र थापाले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै पार्टीले सुविचारित ढंगबाट अबको बाटो तय गर्ने बताएका हुन्।
उनीहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण हुँदा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुगेको पनि उल्लेख गरेका छन्।
‘यस्तो नहुनुपर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक होइन,’ महामन्त्रीद्वयको संयुक्त वक्तव्यमा भनिएको छ।
मुलुकमा सिर्जना भएको नयाँ राजनीतिक समीकरणपछि कांग्रेस समूह दुईवटा दायित्व देखिएको पनि वक्तवयमा उल्लेख छ।
‘यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमान्दार समीक्षा गर्ने,’ महामन्त्रीद्वयले भनेका छन्, ‘दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने।’
नेपाली जनताको मतबाट कांग्रेस पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा यो पटकमात्रै पछि परिएको महामन्त्रीद्वयको भनाइ छ।
‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन,’ वक्तव्यमा भनिएको छ।
कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रुपमा सशक्त भूमिका निर्वाह गर्ने उनीहरुले उल्लेख गरेका छन्।
शर्मा र थापाले कांग्रेसले आफ्नो इतिहासमा अनेकौं चुनौती र अप्ठ्यारा मोड सामना गरेर दृढतापूर्वक अघि बढेको र देशलाई सफलतापूर्वक निकास दिएको स्मरण गर्दै भनेका छन्, ‘त्यसैले अहिलेको परिस्थितिलाई पनि संकटका रूपमा लिएर हतास हुने छुट हामीलाई छैन, बरु यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नुछ।’