काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १६.३४ अंकले बढेर २०४५.३७ विन्दुमा कायम भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ४ अर्ब १ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज २६१ कम्पनी कारोबारमा सामेल भएकामा १ करोड ७ लाख ८३ हजार कित्ता सेयर बिक्री भएको हो।
दिनभरिमा ६१ हजार ८३५ पटकको खरिदबिक्रीसँगै ११० कम्पनीको सेयर बढेको छ भने ९४ कम्पनीको घटेको र ८ वटाको उही मूल्यमा कारोबार भएको छ।
कमाउने, गुमाउने र धेरै कारोबार गर्ने कुन?
आज सृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा सेयरधनीले प्रतिकित्ता नै १७६.५० रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै धौलागिरि लघुवित्तको सेयर पनि ९.९९ प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता १०४.५० रुपैयाँ कमाएका छन्।
यसबाहेक खप्तड लघुवित्तका सेयरधनीले प्रतिकित्ता ८७.२० रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकित्ता ४३.१० रुपैयाँ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले ४०.३० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
गुमाउने लगानीकर्ताले ५.५७ प्रतिशतसम्म गुमाएका छन्। धेरै कारोबार भने आज नबिल बैंकको भएको छ। बैंकको २२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको हो। दोस्रो धेरै कारोबार नेपाल टेलिकम, तेस्रोमा हिमालयन डिस्टिलरी, चौथोमा एनआईसी एसिया बैंक र पाँचौँ धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ।