आणविक हतियारको संख्या बढाउने उत्तर कोरियाका नेता किम जोङ उनको घोषणा
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक हतियारको संख्या ह्वात्तै बढाउने बताएका छन् ।
सत्तारूढ वर्कर्स पार्टीको एक बैठकमा किमले दक्षिण कोरिया र अमेरिका जस्ता मुलुकहरूबाट उत्तरलाई तेर्सिने राष्ट्रिय जोखिमबाट प्रतिरक्षा गर्न विशाल सैन्य शक्ति आवश्यक रहेको बताएका हुन् ।
ती दुई मुलुकले उत्तरलाई एक्ल्याउन र ठिंगुर्‍याउन चाहेको किमको भनाइ छ । दक्षिण कोरियाको भूमिमा अमेरिकाले आणविक हतियार ल्याएर राखेको सन्दर्भमा उनले यो टिप्पणी गरेका हुन् । यो परिस्थिति मानव इतिहासकै अभूतपूर्व भएको उनको भनाइ छ ।
उनले दक्षिण कोरियालाई आफूहरूको शत्रु भनी वर्णन गरे । दक्षिणले बुद्धिहीन तथा खतरनाक रूपमा हतियार विकसित गरिरहेको उनको भनाइ छ ।
नयाँ अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू विकसित गर्नका लागि किमले आह्वान गरेका छन् । अनि सकेसम्म छिटो देशको पहिलो सैन्य भूउपग्रह सञ्चालनमा ल्याउन पनि उनले आग्रह गरेका छन् ।
नयाँ वर्षको पहिलो दिनमा एकाबिहानै उत्तरले कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको केही घण्टापछि किमको भनाइ सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय