गुल्मी समाज भिक्टोरियाको पहिलो महिला अध्यक्ष बनिन् प्रिया

मेलवर्न । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको अध्यक्षमा प्रिया गौतमले जिम्मेवारी पाएकी छन् । हालसम्म अध्यक्षता गरिरहेका माधव खरेलले कार्यव्यस्तताको एक टर्म पूरा गरी गौतमलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

हाल सचिवको रुपमा भूमिका निर्वाह गर्दै आएकी गौतमले अब अध्यक्षको रुपमा समाजलाई अघि बढाउने भएकी हुन् । योसँगै गुल्मी समाज भिक्टोरियामा गौतम पहिलो महिला अध्यक्ष समेत हुन सफल भएकी छन् ।

अध्यक्ष पदको जिम्मेवारी सम्हालेसँगै उनले संस्थाको उद्धेश्यप्राप्तिमा मिलेर अघि बढ्ने बताइन् ।

उनले कनेक्ट नेपालीसँग भनिन्, म यो भूमिका निभाउन पाउँदा धेरै उत्साहित छु किनकि हामीसँग बहुप्रतिभाशाली सदस्यहरू भएको यति ठूलो गुल्मी समुदाय छ जसको एकतालाई बलियो राख्दै प्लेटफर्महरू सिर्जना गर्न चाहन्छु।

समाजको सचिवको रूपमा आफ्नो अघिल्लो भूमिकामा नेपाली नयाँ वर्ष, तीज धमाका, नेपाल महोत्सव सहभागिता जस्ता धेरै सफल कार्यक्रमहरू गर्नमा संलग्न रहेको भन्दै उनले भावी योजनाहरूमा समुदायमा खेलकुद, नृत्य र अन्य गतिविधिहरू बढाउने योजना रहेको बताइन् । त्यस्तै मानसिक स्वास्थ्य, घरेलु हिंसा र लैङ्गिक समानता जस्ता समाजका मुख्य मुद्दाहरूका लागि चेतना जगाउने, अन्य समुदाय समूहहरूसँग सहकार्य गर्न र बलियो सम्बन्ध स्थापना गर्ने अभियानमा लाग्ने उनले बताइन् ।

उनले आगामी दिनमा सबैसँग सहकार्य गरेर थप बलियो आत्मविश्वासको साथ अघि बढ्ने भन्दै केही नयाँ योजनाहरु लिएर अघि बढने समेत बताइन् । अब बाँकी रहेका केही पदहरुमा संस्थाको आगामी बैठकले पूर्णता दिने भएको छ ।

अध्यक्ष खरेलले सार्वजनिक गरे आफ्नो कार्यकालको प्रगतिविवरण
जाँदाजाँदै अध्यक्ष खरेलले करिब १३ महिना बराबरको आफ्नो कार्यकालमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । गुल्मी टाइगर्स क्रिकेट र फुटबल क्लबको स्थापना, खेलकूद गतिविधिहरु, न्याभको २५ औं वार्षिकोत्सव, गाला डिनर, नेपाल फेस्टिवल २०२२, एनआरएनए समाज कल्याण गाला कार्यक्रम, तीज धमाका जस्ता धेरै कार्यक्रमहरूमा प्रदर्शन तथा नृत्य समूहको स्थापना, कलाकारहरु पशुपति शर्मा र रचना रिमाल, सुबोध गौतम, दीपक आचार्य (काकु) को साथमा मेगा तीज धमाकाको आयोजना गरिएको विवरण उनले प्रस्तुत गरे ।

त्यस्तै मुस्ताङ प्यालेसमा नेपाली काँग्रेसका नेता तथा नेपालको संघीय सांसद डा. चन्द्र भण्डारीसँग भेटघाट र रात्रिभोज, खाँचोको समयमा सँगी गुल्मेलिसहरूको लागि चन्दा सङ्कलन, आगलागीबाट क्षती व्यहोरेका सूर्य अधिकारी, कृष्णा सापकोटा, सुसन खतिवडा परिवारलाई राहत, नेपाल फेस्टिभल २०२२ मा भव्य सहभागितालाई उनले उपलब्धिको रुपमा सार्वजनिक गरेका छन् ।

विगत १३ महिनादेखि यस संस्थाको नेतृत्व गर्न पाउँदा खुशी व्यक्त गर्दै उनले अबको नयाँ कार्यसमितिसँग पनि मिलेर काम गर्ने बताए ।

उनी हाल नेप्लिज एसोसियसन अफ भिक्टोरियाको सचिवको भूमिकामा छन् ।

यो पनिः मेलवर्नमा भव्य बन्यो ‘तीज धमाका’, दर्शकले हल खचाखच, तस्वीरमा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर