काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग भएको छलफलमा आज गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धता जनाउदै सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरू साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने समेत बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नु नपर्ने बताउँदै सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । यस्तै उहाँले भन्नुभयो ‘उद्योगी तथा व्यवसायीहरूले पैसा कमाउनुपर्छ‚ कमाउनुस् । स्वच्छ प्रतिस्पर्धा गरेर व्यवसायीहरूको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो । त्यहाँबाट नै रोजगारीको सिर्जना हुन्छ‚’ ।
गृहमन्त्री लामिछानेले कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयका लागि चुनौतीको विषय नभएको पनि बताउनुभयो । उहाँलेले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्नेसमेत बताउनुभयो ।