काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा बस दुर्घटना हुँदा एकै गाउँका ६ जना महिला तथा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्साने गाउँका ११ वर्षका सरुमा घिमिरे, ३३ वर्षका निर्मला घिमिरे, ५४ वर्षका खिम कुमारी राना, ४५ वर्षका गुनी गाहा, २१ वर्षका कमला भनिने दानकुमारी खत्री र १९ वर्षका बीमा पाण्डेको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका १६ जनाको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।
केही घाइते भने उपचारपछि घर फर्किसकेका छन् । दुर्घटनामा परेको ग १ ख ४९७७ नम्बरको बस रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको थियो ।
दुर्घटनामा परि घाइते भएका सवारी चालकका अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना भएको हो । घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।