काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गलत दिशामा जान थालेका बेला समयमै हस्तक्षेप गरेर सहि दिशमा ल्याउन सफल भएको बताएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी बनेका बेला व्यक्तिबाद देखापरेको, पार्टीभित्र जटिलता देखापरेको, दक्षिणपन्थी अवसरवाद देखापरेको, निरङ्कुश प्रवृत्ति देखापरेको, सामूहिकताको भावना समाप्त भएको र आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृति पनि देखापरेको उल्लेख गरे । उनले ती विषय कति ठीक छ कति बेठीक थियो त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरे ।
उनले नेपालको राजनीति गलत दिशामा जान थालेकोमा त्यसलाई सहि दिशामा लैजानका लागि समयमा हस्तक्षेप गरेको, ती प्रवृत्तिका विरुद्धमा आवाज बुलन्द गरेको र जनताको साथ पाएको बताए । आम नागरिक समाजको समर्थनमा पार्टीभित्रको गलत प्रवृत्तिमा अंकुश लागेको उल्लेख गरे ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट खुसी रहेको बताउँदै अध्यक्ष नेपालले चुनावमा उठाएका उम्मेदवारहरु मध्ये ५० प्रतिशतले सफलता हासिल गरेको बताए ।
समानुपातिक तर्फबाट प्राप्त भएको मतमा एकीकृत समाजवादी सन्तुष्ट नभएको उनले बताए । त्यसमा पार्टीकै त्रुटी रहेको र राम्ररी मेहनत गरेको भए अहिले समानुपातिकमा आएको मतभन्दा दोब्बर मत आउने उल्लेख गरे ।