१८ औं न्याभ कपबारे न्याभको पत्रकार सम्मेलनः तयारी अन्तिम चरणमा, यस्ता छन् आकर्षणहरु

मेलवर्न । भिक्टोरियाकै पूरानो नेपाली संस्था नेपाली संगठन भिक्टोरिया (न्याभ)ले गर्न लागेको १८ औं न्याभ कपको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सहप्रायोजनमा यस क्षेत्रमा नेपाली समुदायबाट आयोजना हुने हालसम्मकै ठूलो खेलकूद प्रतियोगिता न्याभ कपको तयारीको बारेमा जानकारी दिन आइत्वार विहान १० बजे म्याक्सीम्याक्सको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मलेनको क्रममा न्याभका पदाधिकारीहरुले आगामी आइतवार १५ जनवरीबाट शुरू हुन लागेको न्याभ कपमा १२ समूहले सहभागिता जनाउने निश्चित भएको समेत जानकारी दिए ।

कार्यक्रममा बोल्दै न्याभका कोषाध्यक्ष यकेन्द्र तिमिल्सिनाले न्याभ यही जनवरी १० बाट २६ औं बर्षमा प्रवेश गर्न लागेको जानकारी दिदै हालसम्म न्याभले खेलकूद, कला, साहित्य, नेपाली भाषा, संस्कृतिको संरक्षण तथा उत्थान मात्र नभएर हरेक नेपालीहरुको हकहितको निम्ती नियमित रुपमा पहरेदारी गरिरहेको जनाएका थिए ।


यसपटकको १८ औं न्याभ कपलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ती आयोजक लागि परेको भन्दै उनले तयारीको काम अन्तिम चरणमा पुगेको समेत जनाए ।

न्याभ अध्यक्ष प्रेम राज उप्रेती भने स्वास्थ्य अवस्थाको कारण कार्यक्रममा सहभागि हुन नसक्दा उनको तर्फबाट सम्मेलनको अध्यक्षता कोषाध्यक्ष तिमिल्सिनाले गरेका थिए । अध्यक्ष उप्रेतीले कार्यक्रम भव्य बनाउनको निम्ती अहोरात्र खट्ने सबैप्रति आभार व्यक्त गर्दै खेलाडी, खेलकुद टिम तथा उपस्थित सम्पूर्णको सहयोगको मूल्याकंनले संस्थाले गर्ने सन्देश पठाएका थिए ।

कार्यक्रममा बोल्दै मुख्य प्रायोजक म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसनका निर्देशक शंकर धरेलले नेपालीहरुको साझा संस्था न्याभ र यसले नेपालीलाई खेलकुदसँग जोड्नको निम्ती गरेको क्रिकेट प्रतियोगिताबाट उत्साहित भएर मुख्य प्रायोजन गरेको जनाए । अष्ट्रेलियामा भविष्य खोज्दै आएका नेपालीहरुलाई क्रिकेटमा पनि भविष्य देखाउनको निम्ती यो कार्यक्रम महत्वपूर्ण रहेको भन्दै धरेलले खेललाई विस्तार र प्रोफेशनल बनाउनुपर्नेमा जोड दिए ।

खेलमा लाग्नेहरुलाई प्रेरणा दिनेगरी आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरुमा सहभागिता जनाउने उनको भनाइ छ । उनले खेलको क्रममा उत्कृष्ट प्रदर्शनी गर्ने अन्तराष्ट्रिय विद्यार्थी छनौट गरेर ती विद्यार्थीले पढीरहेको कोर्सको ५० प्रतिशत छात्रावृति दिने समेत घोषणा गरे ।

उक्त अवसरमा खेल संयोजक दीप चन्दले कार्यक्रम सफल पार्नको निम्ती न्याभ खेल समिति, आयोजक समिति समितिले काम गरिरहेको भन्दै फिजियोको रुपमा सुजन खनाल र क्रिकेटको टेक्निकल हेडको रुपमा सन्तोष बास्ताकोटीले भूमिका निभाउने जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागि जनाउने १२ समूहहरुमा एक्सपर्ट सगरमाथा ब्लुज ए, सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स क्लब रहनेछन् ।



१५ जनवरी २०२३ देखि १९ मार्चसम्म गरी दुई महिना बढीको उक्त न्याभ कप टि डब्लू पार्क प्रेस्टनमा हुने चन्दले बताए ।

यसपटक कपमा विजयी हुनेहरुको निम्ती पुरस्कार राशि पनि बढाइएको छ । प्रथम हुने समूहले ३ हजार डलरको प्रथम पुरस्कार पाउने छ भने द्वितीय हुने समूहले १ हजार प्राप्त गर्नेछ । टि ट्वान्टी लिग अनुसार हुन उक्त कपको विजेताले ट्रफीसहित नगद पुरस्कार पाउने भएका हुन् ।

त्यस्तै यसपटक म्यान अफ द म्याच, प्लेयर अफ द सिरिज इमर्जिँग प्लेयर लगायतलाई दिइने पुरस्कार पनि वृद्धि गरिएको चन्दले जनाए ।

त्यस्तै पत्रकार सम्मेलनको क्रममा न्याभ कपको टेक्निकल हेड सन्तोष बास्ताकोटीले खेलको नियमहरु खेलाडीलाई जानकारी दिदै खेल टि २० लिगअनुसार हुने जनाए । त्यस्तै खेल पोशक अनिवार्य लगाउन जोड दिदै विहान ९ बजेभन्दा ढिला आउने खेलाडीको टिमलाई हरेक ५ मिनेटमा ५ रनको पेनाल्टी दिइने जनाए ।

त्यस्तै उक्त अवसरमा सहप्रयोजक ब्राइटन कलेजका क्याम्पस प्रमुख अमर आचार्यले ब्राइटन कलेजले खेलाडीहरुको प्रोत्साहनको निम्ती कलेजले नियमित रुपमा सहयोग तथा सहकार्य गर्ने बताउँदै ब्राइटन कलेजकै एक टिम तयारी गर्ने समेत बताए ।

त्यस्तै स्पोन्सर लेन्डभाइजरबाट रोशन सत्याल, ट्राभल पार्टनर यात्रा द कनेक्सनबाट सबिन अधिकारी लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

१९ मार्चमा हुन लागेको ग्रान्ड फिनालेमा नेपाली क्रिकेट क्षेत्रका लेजेन्ड तथा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का मुख्य आकर्षण रहने भएका छन ।

यो पनि पढौंः न्याभ कपमा सहभागि हुन पारस खड्का अष्ट्रेलिया आउँदै, क्रिकेट क्याम्प गरिने

खड्कालाई सद्भावना दूतको रुपमा नियुक्त गरिएको जानकारी दिदै न्याभले खड्काको योगदानको कदर गर्दै अभिनन्दन कार्यक्रम गरिने जानकारी दिएको छ । त्यस्तै कान्तिपूर स्पोट्र्सका ब्यूरो प्रमुख विनोद पाण्डे पनि सो कार्यक्रममा सहभागि हुने छन् । खेल पत्रकारिताबाट दिएको योगदानको कदर स्वरुप पाण्डेलाई पनि अभिनन्दनको कार्यक्रम राखिएको छ । सोही अवसरमा खड्काले क्रिकेट क्याम्प पनि गर्ने भएका छन् ।

त्यस्तै न्याभ कपको अवसरमा न्याभले २०१९ देखि च्यारिटी खेल समेत आयोजना गर्दै आएको छ । नेपाल र अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग पुर्याउने उद्धेश्यसहित गरिने उक्त प्रतियोगिता अन्तर्गत गत बर्ष अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल एसोसियसनलाई ५ हजार डलर सहयोग गरिएको थियो । यस पटकको च्यारिटीबाट संकलन हुने रकमले न्याभले सञ्चालन गरेको भाषा विद्यालय बालचौतारीलाई सहयोग गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको सहजीकरण आलोक पौडेल र दीप चन्दले गरेका थिए भने समापन न्याभ उपाध्यक्ष ललिशा थापाले गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर