मेलवर्न । नेपाली संगठन भिक्टोरिया (न्याभ)ले गर्न लागेको १८ औं न्याभ कपको अवसरमा नेपाली क्रिकेट क्षेत्रका लेजेन्ड तथा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का सहभागि हुने भएका छन् ।
यही मार्च १९ मा हुन लागेको ग्रान्ड फिनालेको अवसरमा खड्का मेलवर्न आउने भएका हुन् ।
खड्कालाई सद्भावना दूतको रुपमा नियुक्त गरिएको जानकारी दिदै न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले खड्काको योगदानको कदर गर्दै अभिनन्दन कार्यक्रम गरिने जानकारी दिएका छन् ।
खड्काले नेपाली क्रिकेट जगतमा दिएको योगदानको कदर स्वरुप अभिनन्दन कार्यक्रम राखिएको उप्रेतीको भनाई छ । सोही अवसरमा खड्काले क्रिकेट क्याम्प पनि गर्ने भएका छन् । जसमा खड्का र क्रिकेट खेलाडी तथा सम्बद्ध व्यक्तिहरुवीच ज्ञान आदान प्रदान समेत हुने भएको छ ।
त्यस्तै कान्तिपूर स्पोट्र्सका ब्यूरो प्रमुख विनोद पाण्डे पनि सो कार्यक्रममा सहभागि हुने छन् । त्यस्तै खेल पत्रकारिताबाट दिएको योगदानको कदर स्वरुप पाण्डेलाई पनि अभिनन्दनको कार्यक्रम राखिएको छ । यसरी नेपाली क्रिकेट क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गर्ने न्याभको कार्यक्रम यस क्षेत्रकै पहिलो भएको जनाइएको छ ।
म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सहप्रायोजनमा न्याप कप यस क्षेत्रमा नेपाली समुदायबाट आयोजना हुने हालसम्मकै ठूलो खेलकूद प्रतियोगिता हो ।