काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना बन्द कोठामा नघटाइएको जिकिर गर्नुभएको छ। निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन। माननीय रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो। यो राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो। हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ।’
चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसद्मा लडिरहने भन्दै उहाँले शीर्ष राजनीतिक दलका नेताहरुले समेत रेशम चौधरी निर्दोष भनिसकेको स्मरण गराउनुभयो । उहाँले रेशम चौधरीको रिहाइका लागि माग समेत गर्नुभयो।