प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले दिएको सूचना हिजोको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सांसदहरूलाई जानकारी गराउनुभएको थियो ।

सरकारलाई समर्थन गरेका सातै राजनीतिक दलले यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । नेपाली काँग्रेसले आज बिहान बस्ने संसदीय दलको बैठकबाट प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा निर्णय गर्ने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीले पनि बिहान बैठकबाट निर्णय गर्ने नेताहरूले बताएका छन् । प्रचण्डलाई एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसदले विश्वासको मत दिने निश्चित भइसकेको छ । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले पनि विश्वासको मत दिने बताइसकेका छन् ।

१० सिट रहेको एकीकृत समाजवादी र चार सिट रहेको लोसपाले विश्वासको मत दिए भने सरकारको पक्षमा दुईतिहाइ पुग्छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८३ सदस्य चाहिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय