वामपन्थी नेता घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने

काठमाडौं । नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।

शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको उनको सचिवालयले जनाएको छ ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उनले चर्को विरोध गरे । यस्तै महाधिवेशनमा पनि ओलीको निर्देशन विपरीत भुसालले उम्मेदवारी दिएका थिए ।

गएको मङ्सिर ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उनले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिएका थिए । चुनावमा पराजित भएपछि उनी निष्क्रियजस्तै थिए ।

एकीकृत समाजवादीले घनश्याम भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय