काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको हो। त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भट्टले शपथ लिनुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराउनुभएको हो ।
नेकपा माओवादीका संसदीय दलका नेता समेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुनुभएको हो। थापा भने नेकपा एमालेकी समानुपातिक प्रदेश सभा सदस्य हुनुहुन्छ । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी, राप्रपाले भने अझै सरकारमा भएका छैनन् । आफूहरूले सरकारसँग राखेको माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने वातावरण बन्ने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले बताउनुभयो।