नेप्लीज अष्ट्रेलियन बहुसांस्कृतिक केन्द्रको सदस्य संख्या २ हजार बनाउने लक्ष्य

मेलबर्न। मेलबर्नमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) बनाउने गुरुयोजना अनुसार २०१७ डिसेम्बरमा सप्ताह लगाइएको थियो। पाँच वर्षपछि फेरि मेलबर्न सप्ताह २ आयोजना गरिँदैछ । भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुले बिहे, ब्रतबन्ध, पास्नीलगायतका शुभ कार्यहरु आफ्नै मन्दिर परिसरमा गर्न सकियोस् भन्ने उद्देश्यका साथ अगाडी बढेको एएनएमसीको गुरुयोजना निकै अघि बनेको भएपनि पहिलो मेलबर्न सप्ताह यस योजनाको कोशेढुंगा थियो । सात दिनसम्म चलेको उक्त सप्ताहबाट करिब ११ लाख अष्ट्रेलियन डलर संकलन भएको थियो।

पण्डित दिनबन्धु पोखरेलले कथा बाचन गरेको उक्त कार्यक्रमबाट एक हजार बढी आजीवन सदस्यता बितरण गरिएको अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल कमिटी ९एएनएमसी०का सचिव डा तिलक पोखरेल बताए। नेपाली सामुदायिक केन्द्रको जग्गा खरिदका लागि १५ लाख अष्ट्रेलियन डलर आवश्यक रहेकोमा पहिलो मेलबर्न सप्ताहबाट ११ लाख अष्ट्रेलियन डलर संकलन भएको थियो। १५ सयका दरले आजिवन सदस्यता शुल्कबाट र दान भेटी र दाताहरुको सहयोगबाट उक्त ११ लाख संकलन गरिएको थियो ।

पहिलो मेलबर्न सप्ताहमा २५ हजार बढी अष्ट्रेलियन डलर दान गर्ने दाताहरुको अगग्गै लिस्ट बनाएर राखेको सचिव पोखरेलले जानकारी दिए। उनका अनुसार पहिलो मेलबर्न सप्ताहको अवसरमा २५ हजार बढी दान गर्ने दातामा एनआरएनका पूर्वअध्यक्ष शेष घले, उनकी पत्नी जमुना गुरुङ घले, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र उनकी पत्नी लक्ष्मी योञ्जन र एएनएमसीका पूर्वअध्यक्ष डा चन्द्र दिपक पोखरेल रहेका छन् । समाजका प्रतिष्ठित व्यक्तित्वहरुको सहयोगले अन्यलाई प्रोत्साहित मात्र गरेन बहुसांस्कृतिक केन्द्र निर्माणको योजनामा दरिलो पाईला चाल्न समेत सहयोग गरेको थियो ।

पहिलो मेलबर्न सप्ताहले नेपाली सामूदायिक केन्द्रको जग्गा खरिदका लागि बाटो खोलिदिएको स्मरण गर्दै सचिव पोखरेलले अबको मेलबर्न सप्ताह–२ ले नेपाली सामूदायिक केन्द्रलाई ऋण मुक्त गरिदिओस भन्ने अपेक्षा रहेका बताए। उनले जग्गा खरिदका गर्दा लिएको ४ लाख ५० हजार अष्ट्रेलियन डलर र बाँकी सामूदायिक केन्द्रका संरचना बनाउँदा लागेको खर्च एक लाख ५० हजार गरी जम्मा ६ लाख अष्ट्रेलियन डलर एएनएमसीमाथि ऋण रहेको बताए।

उनले यस पटक पनि आजिवन सदस्यताको विस्तारबाट आर्थिक संकलन गर्ने लक्ष्य छ । उनले यस पटक सामूदायिक केन्द्रको आजिवन सदस्य संख्या बढाएर २ हजार पुर्याउने योजना रहेको सुनाए। सामूदायिक केन्द्रको सदस्यता लिएर मेलबर्नमा मिनी नेपालको अवधारणा सफल पार्न समूदायलाई उनले आग्रह गरेका छन् । उनले मेलबर्न सप्ताह–२ मा आएर नेपालका चर्चित गुरु दिनबन्धु पोखरेलद्वारा बाचित कथा सुनेर सहभागिता जनाउन अनुरोध गरेका छन् ।

मेलबर्न सप्ताह–२ आगमी अक्टोबर १५ देखि सुरु हुँदैछ । कलश यात्राबाट सुरु हुने नवाह महायज्ञमा सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म कथावाचन गरिनेछ। हरेक दिन साँझ ७ः३० बजे आरति गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय