मेलवर्न । अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को आगामी दुई बर्षे कार्यकालको निम्ती अध्यक्षमा गान्धी प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
संस्थाले यही २७ नोभेम्बरको लागि साधारणसभा र २० नोभेम्बरको लागि अधिवेशन बोलाएको थियो । जस अनुसार अध्यक्षमा भट्टराईसहित उपाध्यक्षमा सुधीर शाक्य, कुसुम पोखरेल, सचिवमा तिलक पोखरेल, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा अनन्त पौडेल चयन भएका छन् । सदस्यहरुमा मनोज घिमिरे, आत्मा रिजाल, दिपक आचार्य, भीम न्यौपाने, सुमिता मल्ल भण्डारी, ज्योति सिंखडाले जिम्मेवारी पाएका छन् । सहसचिव भने पछि मनोनयन गरिने भएको छ ।
नयाँ कार्यसमिति चयन गर्न डा. भोला गिरीको अध्यक्षतामा निर्वाचन समिति समेत गठन गरिएको थियो । जसको सदस्यहरुमा डा. सुरेन्द्र रौनियार, गणेश अधिकारी, माधुरी मास्के र श्री पन्थ रहेका थिए । तर निर्विरोध रुपमा कार्यसमिति चयन भएसँगै निर्वाचनमा पनि जानुपरेन ।
को हुन् भट्टराई ?
अष्ट्रेलिया आएसँगै यहाँको नेपाली समुदायको हकहित, संस्कृति संरक्षण, विस्तार आदिमा संलग्न भएर समाजसेवा गर्दै आएका भट्टराईले हालसम्म एएनएमसीको सदस्यको रुपमा काम गरिरहेका थिए । अधिकतम सामाजिक कार्यहरुमा आफ्नो उपस्थिती जनाउने भट्टराईले यसअघि गुल्मी समाज भिक्टोरियामा २ बर्षे कार्यकाल अध्यक्षको रुपमा र महासचिवको रुपमा ४ बर्ष गरी ६ बर्ष सेवा गरेका छन् ।
युवा र खेलकुदलाई एकआपसमा जोड्ने ध्येयसहित स्थापित रोयल वेस्टर्न क्लबको कार्यकारी सदस्यको रुपमा काम गरिरहेका भट्टराईले २००८ सालदेखि प्रत्यक्ष र परोक्ष रुपमा नेपाली समुदायको सेवकको रुपमा काम गरिरहेका छन् ।
उनले एएनएमसीले लिएको बहुसांस्कृतिक केन्द्रको गुरुयोजनालाई अघि बढाएर नेपाली मन्दिर, सामुदायिक केन्द्र निर्माण गरी भाषा र संस्कृतिलाई भावी पुस्तासम्म पुर्याउने र जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।
यसअघि संस्थाको नेतृत्व राजेश आचार्य, डा. चन्द्रदिपक पोखरेल र रञ्जन वैद्यले गरिसकेका छन् ।
एएनएमसीले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली, कला, संस्कृतिलाई जोगाउने अभियान चलाइरहेको छ । अहिले संस्थाले डिगर्स रेष्टस्थित १०० डकन्स लेनमा बहुसांस्कृतिक केन्द्र निर्माण गर्न लागिरहेको छ । जसको निम्ती भिक्टोरिया सरकारले करिब ३ लाख डलर समेत सहयोग गरेको छ ।
यो पनि पढ्नुहोस्ः
एएनएमसीको अध्यक्ष पदमा गान्धी भट्टराईको उम्मेद्वारी, यस्ता छन् एजेन्डाहरु
भिक्टोरियाको नेपाली समुदायलाई राज्य सरकारको ‘तिहार कोशेली’- तीन लाख डलरको अनूदानको घोषणा