अष्ट्रेलियामा नेपाली महिलाहरुको संघर्षको कथाहरु समेटिएको पुस्तक सार्वजनिक (तस्वीरहरु)

मेलवर्न । अष्ट्रेलियामा रहेका नेपाली महिलाहरुले भोगेको दुख र गरेको संघर्षलाई समेटेर दिदीवहिनी समाज अष्ट्रेलियाको पहलकदीमा पुस्तक सार्वजनिक गरिएको छ ।

‘नेप्लिज वुमेन्स टेल्स अफ रेजिलेन्स’ नाम दिइएको उक्त पुस्तकमा अष्ट्रेलियामा रहेका नेपाली आप्रवासी महिलाहरूको प्रतिकूलता, लचिलोपन र ज्ञानको पक्षविशेष कथाव्याथाहरु सार्वजनिक गरिएको दिदी वहिनी समाज अष्ट्र्रेलियाको तर्फबाट सदस्य तथा समाजसेवी अनिता भण्डारीले जानकारी दिइन् ।

पुस्तकको अवधारणा २०२१ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा महिलाहरुले आफ्ना कगथा व्याथाहरु प्रस्तुत गर्ने क्रममा देखा परेको थियो ।

अष्ट्रेलियामा रहेका नेपाली आप्रवासी महिलाहरूको जीवन कथा र जीवनका अनुभवहरू र उनीहरूको लचिलोपनको अन्वेषण र साझेदारी गर्ने उद्देश्य सहित पुस्तक प्रकाशित गरिएको हो । जमा आप्रवासी महिलाका अनुभवहरू, संघर्ष, एक्लोपन, जातिवाद, प्रतिकूलता, र तिनीहरूको साहस, अद्वितीय लचिलोपन, आशा, प्रेरणा, स्रोतसाधन लगायतका विषवस्तुहरुलाई समेटिएको छ । प्रतिकूलतालाई जित्न महिलाहरुले गरेको संघर्षलाई समेटिएको उक्त पुस्तकले आगामी दिनमा यहाँ आउने नेपाली महिलाहरुलाई मार्गदर्शक दिने र अर्थपूर्ण जीवन जिउन प्रेरित गर्ने आशा गरिएको भण्डारीले जानकारी दिइन् ।

पुस्तक प्रकाशनको सुरुवाती चरणमा आफ्नो संघर्षको कथाहरु आह्वान गरिएको थियो । भिक्टोरिया मात्र नभएर अष्ट्रेलियाको विभिन्न भागमा बसोवास गर्दै आइरहेका ३९ जना महिलाहरुले उक्त आह्वानलाई स्वीकार गरि आफ्नो व्यक्तिगत यात्रा, प्रतिकूलता र सिकाइका अनुभवहरू साथै अद्वितीय लचिलोपन, आशा, शक्ति झल्काउने दुःख र संघर्षको कथाहरु समाजलाई प्रदान गरेको दिदीवहिनी समाजकी सक्रिय सदस्य मीना मल्ल ठकुरीले जानकारी दिइन् ।

समग्र कथा संग्रह, सम्पूर्ण प्रक्रियाको समन्वय र सम्पूर्ण कथापुस्तकको ढाँचा भण्डारीले गरेकी थिइन् । सम्पूर्ण प्रक्रियामा योगदान र सम्पादन सहित अवधारणा र समन्वय अध्यक्ष डा. जमुना पराजुलीले गरेकी थिइन् भने सम्पादन र सामग्री भिजुअलहरू समाजका कार्यकारीहरू डा. झरना भट्टराई र सञ्जना श्रेष्ठले प्रदर्शन गरेका थिए। नेपाली सामग्रीको सम्पादन नेपाली समुदायका नेता रामकुमार श्रेष्ठले गरेका थिए। सामग्रीको अन्तिम सम्पादन डीबीएसभीका सल्लाहकार टिना लिन्डन र रोशन भण्डारीले गरेका थिए भने अन्तिम प्रुफरीडिङ डा. स्मृति घिमिरेले गरिन् । पुस्तकको कभर सोपान प्रेस प्रालिले ग्राफिक रूपमा डिजाइन र विकास गरेको हो। सामग्री प्रकाशन र प्रकाशनको लागि प्रकाशक वर्किङ टाइप स्टुडियो लाई पठाइएको थियो। टाइपसेटर ल्यूक ह्यारिसले सम्पूर्ण मुद्रण प्रक्रियाको समन्वय गरे।

शनिवार विशेष सभाको साथमा उक्त पुस्तक सार्वजनिक गरिएको छ । अनिता भण्डारी र अन्जना नेपालले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सासंद तथा शिक्षा तथा महिला मन्त्री नेटेली हचिन्सका प्रमुख आतिथ्यता रहेको थियो भने भिक्टोरियन मल्टीकल्चरल कमिशनका अध्यक्ष भिभ न्यूगेन, शणरार्थी समाज अष्ट्र्रेलियाका अध्यक्ष परशुराम शर्मा लुइटेल लगायत विभिन्न जनप्रतिनिधिहरु, दिदी वहिनी समाजसँग सहकार्य गरिरहेका संस्थाहरुको तर्फबाट पनि प्रतिनिधिहरु सहभागि भए ।

उक्त अवसरमा समाजका अध्यक्ष डा. जमुना पराजुलीले पुस्तकको बारेमा जानकारी गराउँदै लेखन, प्रकाशन तथा वितरणमा साथ दिने सबैप्रति आभार व्यक्त गरिन् । उक्त पुस्तकको अध्यक्ष पराजुली सहित प्रमुख अतिथि मन्त्री नेटेली तथा भिक्टोरियन मल्टिकल्चरल कमिशनकी अध्यक्ष भिभ न्यूगेनले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार रोशन भण्डारी, डा. तिलक पोखरेल, बर्षा केसी राजभण्डारी, गीता थापा भण्डारीले पुस्तक सार्वजनिक गर्न सहजीकरण गरेका थिए ।

सोही अवसरमा महिना हिंसा विरुद्धको अभियानअन्तर्गत भिडियो सामग्री प्रस्तुत गरिएको थियो भने विगत १० बर्षमा दिदीबहिनी समाजले गरेको कार्यविवरण सहितको भिडियो सामग्री पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा एक बढी पुस्तकहरु वितरण गरिएको थियो ।

दिदीवहिनी समाजले प्रदान गरेका अन्य थप तस्वीरहरु

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय