मेलवर्न । नेपाली संघ भिक्टोरियाले आफ्नो कार्यकाल २०२२–२०२४ को पहिलो सल्लाहकार समितिसँगको बैठक जुम मार्फत सम्पन्न गरेको छ ।
नवनियुक्त सल्लाहकारहरूलाई स्वागत र परिचयात्मक कार्यक्रमसहित न्याभको कार्यकारी समितिले भदौ ७ देखि हालसम्म भएका घटनाहरूको संक्षिप्त विवरण प्रस्तुत गरेको थियो ।
उपाध्यक्ष कृष्ण चालिसेले न्याभद्वारा सञ्चालित चार बालचौतारीलाई पाठ्यपुस्तक र स्टेशनरी वितरण गरिएको, नयाँ पाठ्यक्रम विकास भइरहेको, टिसर्ट वितरण गर्न लागिएको तथा बालचौतारीलाई समर्थन गर्न च्यारिटी म्याच र गाला डिनरको आयोजना गरिएको जानकारी गराएका थिए ।
त्यस्तै उपाध्यक्ष ललिशा थापाले अगस्ट २७ मा तीज पर्वको आयोजना गरिएको, कोभिड सचेतना सबन्धी नेपाली लोकगीत प्रतियोगिता सम्पन्न गरिएको र पहिलो, दोस्रो र तेस्रोलाई १ हजार डलर, ७५० डलर र ५०० डलरको दरले पुरस्कार दिइएको जानकारी दिइन् । उक्त कार्यक्रममा करिब ३५० जनाको सहभागिता रहेको जानकारी दिदै उनले न्याभको महिला फोरम छिट्टै पुनर्गठन हुने समेत जानकारी दिइन् ।
कोषाध्यक्ष डा. यकिन्द्र तिमिल्सेनाले अष्ट्रेलिया दिवस विभिन्न कार्यक्रम गरी मनाइएको जानकारी दिए । उक्त समारोह अन्तर्गत सामुदायिक क्रिकेटरहरूसँग २२ जनवरी, २६ जनवरीमा अन्तरराज्यीय नृत्य प्रतियोगिता, ६ राज्यहरूको सहभागिता, १०००, ७५० र ५०० डलरका दरले प्रथम, दोस्रो र तेस्रो समूहलाई पुरस्कार दिइएको समेत उनले बताए ।
त्यस्तै बालचौतारीको प्रभावकारी व्यवस्थापनबारे छलफल गर्न शिक्षामन्त्री नेटेली हचिन्ससँग भेटघाट आयोजना गरिएको जनाउँदै न्याभको वेबसाइट चाँडै अपडेट हुने समेत जनाउ गरे ।
त्यस्तै सहसचिव आलोक पौडेलले मुख्य मुद्दाहरूमा पर्याप्त जानकारीको माध्यमबाट युवाहरूलाई सहयोग गर्ने उद्देश्यले फोकल पोइन्ट अनलाइन अन्तरक्रिया श्रृंखला अक्टोबरमा सुरु गरिएको जनाए ।
मानसिक स्वास्थ्य र कल्याण विषयमा डा अनुपम पोखरेल र डा राजु अधिकारीको उपस्थितीमा सम्पन्न भएको, आत्महत्या रोकथामको विषयमा बियन्ड ब्लूको उपस्थितीमा तथा रोजगार सम्भावना र सहयोगी विषयक कार्यक्रम ओबैधुर चौधरी र सुवेश पन्थको साथमा सम्पन्न भएको जनाए ।
खेल संयोजक दीप चन्दले खेलकुद समिति गठन भएको, जनवरी १५ देखि न्याभ कप चलिरहेको तथा मार्च १९ मा फाइनल हुने जनाए । त्यस्तै च्यारिटी प्रतियोगितामा ८ टिम सहभागी रहेको भन्दै बाल भाषा विद्यालयहरूमा योगदान गर्न प्रत्येक खेलाडीबाट ५० डलर संकलन गरिने समेत जनाए ।
त्यस्तै सोही अवसरमा विद्यालयहरूलाई सहयोग गर्न अर्को फन्डरेजिङ गाला डिनर आयोजना गर्न लागिएको समेत जानकारी दिइएको थियो । त्यस्तै न्याभ कपको फाइनल खेलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा न्याभ कपका सदभावना दूत पारस खड्का, कान्तिपूरका खेलकुद व्युरो प्रमुख बिनोद पाण्डेलाई अभिनन्दन गर्न लागिएको समेत उनले बताए ।
नेपाली टोलीले मार्च २५ मा हुने टच फुटी विश्वकपमा सहभागिता जनाउने, तेस्रो बहुसांस्कृतिक सकर मे महिनामा हुने, जुन महिनामा बहुसांस्कृतिक भलिबल आयोजना गर्ने योजना रहेको उनले बताए ।
बाल मामिला विभाग प्रमुख निरजन रेग्मीले ६ विद्यालयको सहभागिता तथा करिब ४५० जनाको उपस्थितीमा ३० अक्टोबरमा बाल दिवस मनाइएको, सेप्टेम्बर ४ मा अनलाइन भाषण प्रतियोगिता आयोजना गरिएको र २० भन्दा बढी बालबालिकालाई सहभागी गराई उपहार र नगद पुरस्कार प्रदान गरिएको जानकारी गराए ।
त्यस्तै मिडिया कला र साहित्य विभाग प्रमुख लक्ष्मण सञ्ज्यालले जनवरी ७ मा मेलबर्न साहित्य फोरमको स्थापना र साहित्य कार्यक्रम आयोजना गरिएको बताउँदै २५ भन्दा बढी कविहरुको सहभागिता रहेको थियो बताए । बाढी प्रभावित भिक्टोरियनहरूका लागि कोष सङ्कलन गर्ने उद्देश्यले अक्टोबर २३ मा दशैं तिहार मनाउने कार्यक्रमको आयोजना गरिएको जनाउँदै उनले शेपार्टन समुदायलाई १५०० डलर हस्तान्तरण गरिएको जानकारी गराए ।
कार्यक्रममा अध्यक्ष प्रेम राज उप्रेतीले न्याभको कार्यकारी समिति निर्वाचित भएको ६ महिना मात्रै पूरा भएको अवस्थामा समुदायको ठूलो सहयोगमा ९ भन्दा बढी कार्यक्रमहरू सञ्चालन गरिएको जनाए । साथै, नेपाल महोत्सवमा एनआरएनए, दशैं तिहारमा एएनएमसी, कोष सङ्कलन र सदस्यता जस्ता महत्वपूर्ण अन्य सामुदायिक संस्थाहरूलाई सहयोग गरिएको समेत उनले बताए ।
उक्त कार्यक्रममा अध्यक्ष परिषद्बाट डा राजु अधिकारी, रञ्जन वैद्य, बम योन्जन, डा अनुपम पोखरेल, सल्लाहकारहरु राजन मास्के, रोशन दाहाल, सुरेन्द्र सेढाई, चेतराज ढकाल, रोशनी श्रेष्ठ, माधुरी मास्के, बासुदेव मरहट्टा, निरजन गौली, सुनिल मैनाली, प्रकाश आचार्य, नरेश रावल, अरुण श्रेष्ठ, लालप्रसाद कँडेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण सचिव माधव खरेलले गरेका थिए ।