चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा आर्थिक सूचकमा उल्लेख्य सुधार: अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र बिस्तारै सप्रिँदै गएको थालेको बताएका छन्। चालू आव २०८०/८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले सुधारका लागि सरकारले थालेका प्रयासले नतिजा दिन थालेको बताएका हुन्।

बजेट कार्यान्वयनको पहिलो छ महिनासम्मको समग्र स्थिति, कार्यान्वयनका क्रममा देखिएका समस्या, प्राप्त उपलब्धि तथा वित्त व्यवस्थापनमा देखिएका समस्यालाई समेटेर अर्थ मन्त्रालयले आज अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको हो। ‘कोभिड-१९ को समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण बढ्दो आयात र उच्च कर्जा प्रवाह हुँदा विदेशी विनिमय सञ्चितिमा परेको चापलाई सम्बोधन गर्न लिइएको कसिलो मौद्रिक नीतिले गर्दा समग्र आर्थिक क्रियाकलापमा सुस्तता देखिएता पनि चालु आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्र क्रमशः गतिमा फर्कँदै गरेको अवस्था छ,’ अर्थमन्त्री महतले भन्नुभयो, ‘बजेट वक्तव्यमार्फत सुरुवात गरिएका नीतिगत, प्रणालीगत तथा प्रक्रियागत सुधारका प्रयासबाट सकारात्मक नतिजा देखिन थालेका छन्।’

अर्थतन्त्र सुधारका लागि हालसम्म गरिएका प्रयासलाई संस्थागत र सुदृढ गर्दै आगामी दिनमा अझ बढी समन्वयात्मक ढङ्गले काम गर्ने अर्थमन्त्रीले बताए। चालू आर्थिक वर्षमा राजस्व संकलन लक्ष्यभन्दा केही कम भए तापनि गत वर्षको यही अवधिको तुलनामा छ दशमलव ५४ प्रतिशतले अधिक छ। सार्वजनिक खर्च प्रणाली र पुँजीगत खर्चमा प्रभावकारिता ल्याउन केही महत्त्वपूर्ण कामको थालनी भएको अर्थमन्त्रीले बताए।

‘वास्तविक स्रोतको उपलब्धता विना नै विकास आयोजनाको लागि बहुवर्षीय ठेक्का सहमति दिने र अर्थ मन्त्रालयको सहमति बेगर बहुवर्षीय खरिद प्रक्रिया अगाडि बढाउने प्रवृत्तिको अन्त्य गरी स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन र बजेट अनुशासन कायम गर्न आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८० जारी गरिएको छ,’ उनले भने, ‘यो मापदण्डको कार्यान्वयनबाट आयोजना छनोटमा प्राथमिकीकरण हुने, कार्यान्वयनमा सहजता आउने, सार्वजनिक स्रोतको उपयोगिता बढ्ने, राष्ट्रिय गौरव, रूपान्तरणकारी तथा रणनीतिक महत्वका निर्माणाधीन ठूला आयोजनामा स्रोतको अभाव हुन नपाउने र तोकिएको समयमा आयोजना कार्यान्वयन भई सार्वजनिक स्रोतको उपयोगिता बढ्ने विश्वास लिएको छु।’

अन्तर्राष्ट्रिय विकास सहायतातर्फ आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको अर्थमन्त्रीको दाबी छ। मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाइएको छ, सार्वजनिक संस्थान सुधारको कार्य अघि बढाइएको, निजीकरण समितिलाई क्रियाशील बनाइएकोलगायत सुधारका काम सरकारले गरिरहेको उनले बताए।

अनिवार्य दायित्व तथा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी रकममा तीव्र वृद्धि हुँदा खर्चमा चाप पर्न गएको छ। कार्यान्वयनको क्रममा रहेका आयोजनालाई पूर्णता दिने र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम प्रस्ताव गरेर मात्र नयाँ आयोजना तथा कार्यक्रमको थालनी गरिने मन्त्री महतले जानकारी दिए।

छ महिनाको आर्थिक तथा वित्तीय स्थिति

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन स्थिर आधारभूत मूल्यमा गत आवको यही अवधिको तुलनामा तीन दशमलव प्रतिशतले वृद्धि हुने अनुमान छ। चालु आव २०८०/८१ को पहिलो छ महिनामा देशको प्रमुख बाली धानको उत्पादन चार प्रतिशतले बढेको छ भने गत आर्थिक वर्षको यसै अवधिमा छ दशमलव नौ प्रतिशतले बढेको थियो।

चालू आवमा बैंकिङ क्षेत्रमा देखिएको तरलतामा सुधार, घट्दो ब्याजदर, शोधनान्तर स्थितिमा सुधार, वैदेशिक लगानी प्रतिबद्धतामा भएको वृद्धिले औद्योगिक क्षेत्रको सञ्चालनमा सकारात्मक प्रभाव परेको छ। आव २०८०/८१ को पुस महिनासम्ममा पाँच लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत आवको यसै अवधिमा यो सङ्ख्या तीन लाख ८४ हजार मात्र थियो।

चालू आवको प्रथम छ महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फीति छ दशमलव ४७ प्रतिशत छ। गत पुसमा उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति पाँच दशमलव २६ प्रतिशत कायम रहेको छ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा विस्तृत मुद्रा प्रदाय ६ दशमलव चार प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा तीन दशमलव पाँच प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा विस्तृत मुद्रा प्रदाय १४ दशमलव तीन प्रतिशतले बढेको छ।

आव २०८०/८१ को पहिलो छ महिनामा कूल आन्तरिक कर्जा दुई प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा दुई दशमलव आठ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा यस्तो कर्जा आठ दशमलव छ प्रतिशतले बढेको छ। चालू आवको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा चार प्रतिशतले वृद्धि भई ४९ खर्ब ९० अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा यस्तो कर्जा चार दशमलव नौ प्रतिशतले बढेको छ।

चालु आवको अर्धवार्षिक समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरूले संलग्न गर्ने निक्षेप छ दशमलव छ प्रतिशतले वृद्धि भई ६० खर्ब ८७ अर्ब पुगेको छ। पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा र ‘ओभरनाइट’ तरलता सुविधामार्फत कूल पाँच खर्ब १५ अर्ब ११ करोड तरलता उपयोग भएको छ भने निक्षेप संकलन बोलकबोलमार्फत तीन खर्ब १५ अर्ब ५५ करोड तरलता प्रशोधन गरिएको छ।

२०७९ पुसमा बैंक तथा वित्तीय संस्थाहरू बीचको भारित औसत अन्तर बैंक दर सात दशमलव ५३ प्रतिशत रहेकोमा २०८० पुसमा दुई दशमलव ८६ प्रतिशत कायम भएको छ। गत पुस मसान्तसम्ममा धितोपत्र बजारमा सूचीकृत भएका कम्पनीहरूको सङ्ख्या दुई सय ७१ पुगेको थियो। यस अवधिमा २४ अर्ब ७८ करोड मूल्य बराबरका थप धितोपत्र सूचीकृत भएका छन्। यो अवधिमा बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रहेको छ।

चालू आवको पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली मुद्रामा २५ दशमलव तीन प्रतिशतले वृद्धि भई सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा २४ दशमलव छ प्रतिशतले घटेर दुई लाख सात हजार नौ सय ७० जना कायम भएको छ।

समीक्षा अवधिमा कूल वस्तु आयातमा तीन दशमलव एक प्रतिशतले घटेर सात खर्ब ६८ अर्ब १७ करोड कायम भएको छ। गत आवको सोही अवधिमा कूल वस्तु आयात २० दशमलव सात प्रतिशतले घटेको थियो। कूल वस्तु निर्यातमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सात दशमलव दुई प्रतिशतले घटेर ७४ अर्ब ९७ करोड कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटामा दुई दशमलव छ प्रतिशतले घटेर छ खर्ब ९३ अर्ब २० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ दशमलव दुई प्रतिशतले घटेको थियो।

गत पुस मसान्तसम्ममा शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ। अघिल्लो वर्ष ९२ अर्ब १५ करोड बचत रहेको शोधनान्तर स्थिति अहिले दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ। यही अवधिमा विदेशी विनिमय सम्पत्ति १८ खर्ब १६ अर्ब ५७ करोड कायम भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो। यो सञ्चितिले १४ दशमलव ५ महिनाको वस्तु आयात र १२ दशमलव १ महिनाको वस्तु र सेवाको आयात धान्न सक्ने देखिएको छ।

बजेट खर्च र स्रोत परिचालन

चालू आव २०८०/८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकामा २०८० पुस मसान्तसम्म पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ। यो कूल विनियोजनको ३२ दशमलव ७५ प्रतिशत हुन आउँछ। यसलाई चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वर्गीकरण गर्दा ३८ दशमलव ८० प्रतिशत, १६ दशमलव ७० प्रतिशत र २६ दशमलव ०६ प्रतिशत खर्च भएको देखिन्छ।

समीक्षा अवधिमा सरकारको स्रोततर्फ पाँच खर्ब ३९ अर्ब ७७ करोड ९३ लाख खर्च भएको छ। यो खर्च गत आवको तुलनामा शून्य दशमलव १५ प्रतिशतले कम हो। वैदेशिक अनुदानतर्फ पाँच अर्ब ४० करोड ५४ लाख खर्च भई गत आर्थिक वर्षको तुलनामा २५ दशमलव १० प्रतिशतले न्यून खर्च भएको छ। वैदेशिक ऋण २८ अर्ब ४४ करोड ८२ लाख खर्च भएको छ।

दीर्घकालीन आर्थिक दायित्व पर्ने विषयमा अन्य निकायबाट प्राप्त भएका एक सय ३० वटा ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्डमा अर्थ मन्त्रालयबाट राय तथा सहमति दिइएको जनाइएको छ। स्रोत सहमति माग गर्ने र स्वीकृत गर्ने प्रणालीमा सुधार गर्न आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८० जारी गरी कार्यान्वयनमा ल्याइएको छ।

इन्धनको प्रयोगको बढ्दो खर्चलाई व्यवस्थित गर्न सवारी साधन सुविधा प्राप्त कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८० जारी गरी कार्यान्वयन ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।

चालू आवको अर्धवार्षिक राजस्व प्राप्तिको अनुमान छ खर्ब ६८ अर्ब १६ करोड ८९ लाख रहेकोमा यो अवधिमा जम्मा ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाख राजस्व संकलन भएको छ। यो रकम राजस्व प्राप्ति अनुमानको तुलनामा ७७ दशमलव १४ प्रतिशत र गत आवको यसै अवधिसम्मको संकलन चार खर्ब ८३ अर्ब ७६ करोड पाँच लाखको तुलनामा करिब छ दशमलव ५४ प्रतिशतले अधिक हो। विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने नीतिगत व्यवस्थाले राजस्व संकलन प्रभावित हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षमा सरकारले दुई खर्ब ४० अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएकामा समीक्षा अवधिसम्म एक खर्ब २८ अर्ब ३१ करोड परिचालन भएको छ। सरकारले चालू आवमा दुई खर्ब ६२ अर्ब ६९ करोड २१ लाख वैदेशिक सहायता परिचालन गर्ने राखिएको छ। समीक्षा अवधिसम्म ५९ अर्ब ९७ करोड ८६ लाख सहायता प्राप्तिको प्रतिबद्धता प्राप्त भएको छ। विकास साझेदारबाट प्राप्त प्रतिबद्धतामध्ये अनुदान सहायता २० अर्ब २७ करोड ८६ लाख अर्थात् ३३ दशमलव ८ प्रतिशत र ऋण सहायता ३९ अर्ब ७० करोड अर्थात् ६६ दशमलव दुई प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा एक खर्ब ३७ करोड १२ लाख वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर